मेस्सी सर्वाधिक महंगा खेलाडी
काठमाडौं । हाल युरोपियन फुटबल बजार स्पेनिस क्लब बार्सिलोनाका स्टार फरवार्ड नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० जाने हल्लाले तातिएको छ । अधिकांस युरोपियन स्पोर्ट्स मिडिया अहिले २५ बर्षीय ब्राजिलियन नेयमारको सरुवाको पछि लागिपरेका छन् ।
केहि मिडियाले नेयमार महँगो मुल्यमा यसै सिजन पिएसजी जाने बताइरहेका छन् त केहिले नेयमार बार्सिलोनामै रहने ठोकुवा गरेका छन् । तर, नेयमार स्वयम्, नेयमारका एजेन्ट र क्लब बार्सिलोनाले भने अहिलेसम्म केहि बताएको छैन ।
नेयमार पिएसजी जाने हल्लाले बजार तताएसँगै स्पेनिस क्लब बार्सिलोनाले भने आफ्ना पहिलो रोजाइका खेलाडीको ‘रिलिज क्लज’ सार्वजनिक गरेको छ । बार्सिलोनाले हालै आफ्ना पहिलो रोजाईमा पर्ने २२ खेलाडीको रिलिज क्लज सार्वजनिक गरेको हो । ‘रिलिज क्लज’ भन्नाले कुनै पनि खेलाडीले आफुले क्लब छाड्न चाहेको खण्डमा तिर्नुपर्ने रकम भन्ने बुझिन्छ । प्रायः विश्वका ठुला फुटबल क्लबले आफ्ना खेलाडीहरुलाई अन्य क्लबले सजिलै किन्न नसकोस् भनेर खेलाडीको रिलिज क्लज राखेका हुन्छन् ।
स्पेनिस क्लबहरुमा सबैभन्दा बढी रिजिल क्लजको प्रयोग गरिँदै आएको छ । किनकी स्पेनको कानुनमा खेलाडीले आफ्नो क्लबसँगको सम्झौता खारेज गर्न चाहेमा तोकिएको रकम तिरे पुग्ने प्रावधान अनिवार्य राखेको कारण स्पेनिस फुटबलमा बढी ‘रिलिज क्लज’ को प्रयोग हुने गरेको छ ।
बार्सिलोनाले नेयमारको रिलिज क्लज १९७ मिलियन पाउण्ड तोकेको छ । अब नेयमारलाई क्लबमा भित्र्याउन चाहेमा पिएसजीले १९७ मिलियन पाउण्ड बढी रकम तिर्नुपर्ने हुन्छ । बार्सिलोनाले जारी गरेको नयाँ ‘रिलिज क्लज’सँगै नेयमार बार्सिलोनामा दोस्रो महँगा रिलिज क्लज भएका खेलाडी बनेका छन् । नेयमारको ‘रिलिज क्लज’ गतबर्षको भन्दा २२ प्रतिशतले बढेको हो ।
बार्सिलोनामा सबैभन्दा बढी ‘रिलिज क्लज’ भएका खेलाडी लियोनल मेस्सी हुन् । पाँच पटकको बालोन डी ओर विजेता अर्जेन्टाइन मेस्सीको रिलिज क्लज २६५।५ मिलियन पाउण्ड रहेको छ । यस्तै जेरार्ड पिके, सर्जियो बुस्केट्स, आन्द्रेस इनिएस्टा र लुइस स्वारेज क्रमशः तेस्रो देखी छैटौंसम्म रहेका छन् । यी चारै खेलाडीको रिलिज क्लज १७७ मिलियन पाउण्ड रहेको छ ।