वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमी : पेडा व्यवसायबाट मासिक ८० हजार आम्दानी
काठमाडौँ, असार २१ । वैदेशिक रोजगारीको लामो अनुभव सँगालेर फर्किएका सुनसरीका एक युवा स्वदेशमै पेडा व्यवसाय गरी उदाहरणीय उद्यमी बन्नुभएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराघाटका महेश साहले पेडा व्यवसायबाट मासिक ८० हजार रुपियाँभन्दा बढी आम्दानी गर्दै आत्मनिर्भरताको मार्ग प्रशस्त गर्नुभएको हो ।
झण्डै ११ वर्ष मलेसियामा श्रम पसिना बगाउनुभएका साहले स्वदेश फर्किएपछि सुरुमा केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाउनुभएको थियो । तर, तीन वर्षअघि चतराघाटमा फस्टाउँदो पेडा व्यवसायबाट प्रभावित भएर उहाँले यस क्षेत्रमा हात हाल्नुभएको हो । “सुरुमा विभिन्न मिठाईहरू बनाएर बिक्री गर्न थालेँ, पछि पेडामा केन्द्रित भएँ,” साह भन्नुहुन्छ, “अहिले यही व्यवसायले राम्रो आम्दानी र सन्तुष्टि दिएको छ ।”
ऐतिहासिक रूपमा ढिके नुनको व्यापारका लागि परिचित चतराघाटको स्वरूप अहिले फेरिएको छ । साहका पुर्खाहरूले नुनको व्यापार गर्ने सोही स्थान अहिले ‘पेडा हब’ का रूपमा विकसित हुँदै गएको छ । विशेष गरी विक्रम संवत् २०७२ मा कोशी पुल सञ्चालनमा आएपछि धरान, इटहरी र विराटनगरबाट सिन्धुली हुँदै काठमाडौँ जाने वैकल्पिक मार्ग खुलेपछि यहाँ व्यापारिक गतिविधिले तीव्रता पाएको हो ।
साहले अहिले दैनिक १२० लिटरभन्दा बढी दूधको पेडा उत्पादन गर्दै आउनुभएको छ । उहाँले यसका लागि उदयपुरको रामपुर र श्रीलङ्का टप्पु क्षेत्रबाट दूध सङ्कलन गर्ने गर्नुभएको छ । उहाँको पसलमा देशका विभिन्न जिल्लाबाट आउने यात्रुहरूको भीड लाग्ने गर्दछ भने अनलाइनमार्फत प्राप्त अर्डरअनुसार डेलिभरीको व्यवस्था समेत मिलाइएको छ ।
वैदेशिक रोजगारी र स्वदेशको कमाइलाई तुलना गर्दै साह भन्नुहुन्छ, ‘विदेशमा १२ घण्टा कडा परिश्रम गर्दा मुस्किलले ४०-४५ हजार कमाइ हुन्थ्यो, अहिले आफ्नै घरपरिवारसँग बसेर त्योभन्दा दोब्बर आम्दानी गरिरहेको छु । आफ्नै माटोमा स्वरोजगार बन्न पाउनु नै सबैभन्दा ठूलो खुसी हो ।’
हाल चतराघाट क्षेत्रमा साहजस्तै एक दर्जनभन्दा बढी व्यवसायीहरूले पेडा पसल सञ्चालन गरिरहेका छन् । कोशी पुलको निर्माण र यातायातको सहज पहुँचले चतराघाटलाई पूर्वी नेपालकै प्रमुख पेडा उत्पादन र बिक्री केन्द्रका रूपमा स्थापित गरिदिएको छ ।