विपद व्यवस्थापनमा काठमाडौँ महानगरको सक्रियता : सामाखुशीका ८ घरलाई सम्भावित क्षतिबाट जोगाइयो

काठमाडौँ, असार २१ । काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन र नागरिकको सुरक्षाका लागि देखाएको उच्च तत्परताका कारण सामाखुशी क्षेत्रका ८ वटा घर ठुलो जोखिमबाट जोगिएका छन् । शनिबार राति परेको भारी वर्षाले सामाखुशी खोलाको पर्खाल भत्काएपछि उत्पन्न संकटलाई महानगरको टोलीले तत्काल प्रतिकार्य गरी नियन्त्रणमा लिएको हो ।

तत्काल परिचालन र सफल उद्धार
खोलाको पर्खाल भत्किएर बस्ती नै जोखिममा परेपछि महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षकद्वय लीलाराज गाछा र ध्रुवकुमार भुजेलको नेतृत्वमा ६० जनाको विशेष टोली तत्काल कार्यक्षेत्रमा खटिएको थियो । टोलीले रातारात करिब २ सय वटा बालुवाका बोराको घेरा लगाएर पर्खाललाई थप भत्किनबाट जोगाएको छ । महानगरको यो ‘क्विक रेस्पोन्स’का कारण स्थानीय बासिन्दाले ठुलो धनजनको क्षति भोग्नु परेन ।

संस्थागत सुधार : ‘क्वीक रेस्पोन्स टीम’ को गठन
महानगरपालिकाले विपदलाई व्यवस्थित रूपमा सामना गर्न विपद व्यवस्थापन विभाग र महानगर प्रहरी सम्मिलित ‘क्वीक रेस्पोन्स टीम’ परिचालन गरेको छ । यसअन्तर्गत वडा स्तरीय समितिहरूलाई सक्रिय बनाउनुका साथै स्वास्थ्य, निर्माण, वातावरण र सूचना प्रविधि जस्ता विभिन्न विभागहरूलाई चौबीसै घण्टा ‘अलर्ट’ अवस्थामा राखिएको छ । खोज र उद्धारका सामग्रीहरू समेत तयारी अवस्थामा राखिनुले महानगरको योजनाबद्ध तयारीलाई स्पष्ट पार्छ ।

प्रविधिको प्रयोग र ढल व्यवस्थापनमा नयाँ सोच
ढल निकासलाई प्रभावकारी बनाउन महानगरले यसपटक नयाँ र सिर्जनशील उपाय अपनाएको छ । डुबान हुने क्षेत्रका ढलका मंगालहरू चिन्नका लागि विशेष ‘सङ्केत चिह्न’ राखिएको छ, जसले गर्दा पानी भरिएको अवस्थामा पनि नगर प्रहरीले तत्काल मंगाल खोलेर निकास दिन सजिलो भएको छ । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार, अहिले कुनै पनि ठाउँमा डुबान भएमा आधा घण्टाभित्र पानीको निकास हुने गरी संयन्त्र तयार गरिएको छ ।

नागरिकको सुरक्षा नै पहिलो प्राथमिकता
महानगरपालिकाले केवल सडकको डुबान हटाउने मात्र नभई, वर्षाको पानीले बगाएर ल्याउने प्लास्टिक र माटोका कारण जाम हुने ढललाई नियमित सफा गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । गणतन्त्र पार्क, जय नेपाल हल र जमल लगायतका क्षेत्रमा देखिएको डुबान समस्यालाई महानगरले यसअघि नै समाधान गरिसकेको छ ।

काठमाडौँ महानगरपालिकाको यो सक्रियता, विभागीय समन्वय र आधुनिक कार्यशैलीले नगरवासीमा सुरक्षाको अनुभूति गराउनुका साथै विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्छ भन्ने एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।