काठमाडौँ २६ मा सार्वजनिक सुनुवाइ : प्रविधि, सुशासन र पूर्वाधार विकासमा वडाबासीको जोड
काठमाडौँ, २१ असार । काठमाडौँ महानगरपालिका वडा नं. २६ ले चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडाले सम्पादन गरेका कार्यहरूको पारदर्शिता प्रस्तुत गर्ने र नागरिकका गुनासा सुन्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्थानीयबासीले प्रविधिजन्य सुरक्षा, खानेपानी, ढल निकास र सामाजिक विकासका मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छन् ।
वडाबासीका मुख्य माग र गुनासा
सुनुवाइ कार्यक्रममा सहभागी २६ जना वडाबासीले आफ्ना धारणा राख्नुभएको थियो । स्थानीयले शान्ति सुरक्षाका लागि सीसीटिभी क्यामराको सङ्ख्या बढाउन, मेलम्ची खानेपानीको नियमित आपूर्ति सुनिश्चित गर्न, बर्खे डुबानको समस्या समाधान गर्न र बेरोजगार युवाहरूका लागि सीपमूलक तालिम सञ्चालन गर्न माग गर्नुभयो ।
स्थानीय विश्वनाथ श्रेष्ठ र बेबिना श्रेष्ठले मेलम्चीको पाइप विछ्याउँदा ढलका मंगाल पुरिएको र महसुल तिरे पनि पानी नआएको गुनासो गर्नुभयो । यस्तै, आशाकाजी महर्जन र रामकृष्ण शर्माले जथाभावी पार्किङ, रात्रिकालीन व्यवसायबाट हुने ध्वनि प्रदूषण र सार्वजनिक स्थलमा हुने फोहोर नियन्त्रण गर्न वडाको ध्यानाकर्षण गराउनुभयो । महिला अधिकारकर्मीहरूले महिला तथा बालबालिकाका लागि पर्याप्त बजेट र सार्वजनिक भवन (फल्चा) को आवश्यकता औँल्याउनुभयो ।
वडाध्यक्षको प्रतिबद्धता : ‘जो चुक्दैन, त्यो झुक्दैन’
वडाध्यक्ष ख्यामराज तिवारीले नागरिकका प्रश्नहरूको जवाफ दिँदै वडाभित्रका ९७ प्रतिशत सडक कालोपत्रे भइसकेको र बाँकी ३ प्रतिशत काम आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरमै पहिलो पटक फाइबर नेटमार्फत सीसीटिभी जडान र डिजिटल घर नम्बरिङ प्रणाली सुरु गरेर वडालाई नमुना बनाएको उहाँले दाबी गर्नुभयो ।
सुशासन र पारदर्शिताको प्र प्रसङ्गमा उहाँले भन्नुभयो, ‘हामी वित्तीय सुशासन र नागरिकप्रतिको दायित्वमा इमानदार छौँ । सेवा प्रवाहमा जो चुक्दैन, ऊ झुक्दैन । हामी कतै चुकेका छैनौँ, त्यसैले कसैसँग झुक्नुपर्ने अवस्था छैन ।’ अध्यक्ष तिवारीले असोजसम्म खानेपानीको समस्या धेरै हदसम्म समाधान हुने, दशैँ अगावै १२५ स्थानमा थप सीसीटिभी जडान गरिने र सडक सुरक्षाका लागि स्पिड ब्रेकर राखिने जानकारी दिनुभयो ।
बजेट र भौतिक प्रगति
वडा सचिव केदार रिमालका अनुसार चालु आर्थिक वर्षका लागि वडाको कुल बजेट १८ करोड ६५ लाख ४३ हजार ५ सय रुपियाँ रहेको थियो । जसमध्ये १५ करोड ७९ लाख पूँजीगत र २ करोड ८६ लाख रुपियाँ चालु खर्चतर्फ विनियोजन गरिएको थियो । यस बजेटबाट सडक कालोपत्रे, ढल व्यवस्थापन, शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण, र डिजिटल ठेगाना प्रणाली विकास जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् ।
कार्यक्रममा वडा सदस्य प्रवेश श्रेष्ठले वडाले नागरिकको नजिक पुगेर सेवा प्रवाह गरिरहेको बताउँदै आगामी दिनमा थप नतिजामुखी काम गर्ने दृढता व्यक्त गर्नुभयो । कपुरधारा, कुमारी टोल र पवित्र नगरका बासिन्दाले वडाले गरेका विकास निर्माणका कामप्रति सन्तोष व्यक्त गर्दै दिगो व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका थिए ।