सङ्कटमा मादल बनाउने पेसा

दाङ, २२ कात्तिक । घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले तिहारको समयमा पनि सोचेअनुसारको व्यवसाय चल्न नसकेको वादीले बताउनुभयो ।

विगतका वर्षहरुमा गाउँदेखि सहरसम्म तिहारमा भैलो खेल्नहरु मादल किन्न आउने हुँदा दैनिकी नै मादल बनाएर बित्ने गरेको उहाँले सुनाउनुभयो । यो वर्ष तिहार नजिकिँदै गर्दा पनि हालसम्म मादल बिक्री हुन नसकेको उहाँले दुखेसो पोख्नुभयो ।

केही वर्षअघि सम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै वादीले भन्नुभयो, “प्रविधिको विकाससँगै पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ । यो वर्ष अहिलेसम्म छ/सात मादल बिक्री भएको छ ।” साढे चार दशकभन्दा बढी समय मादल बनाएर बिक्री गर्ने पेसा गर्दै आउनुभएका उहाँ पछिल्लो समय बिक्री नहुँदा मादल र बाँसुरी बनाउने पेसा नै सङ्कटमा पर्छ कि भन्ने चिन्ता लाग्न थालेको उहाँले बताउनुभयो ।

करिब एक दशक अघिसम्म तीज, दसैँ र तिहारलगायत चाडपर्वमा ग्राहकलाई मादल पुर्याउन धौधौ पर्ने बताउँदै वादीले चाडबाडमा मात्रै एक लाखसम्म आम्दानी हुने गरेकामा अहिले वर्षभरि बिक्री गर्दा पनि ५०÷६० हजार नपुग्ने जानकारी दिनुभयो ।

प्रविधिको विकासले मानिसका हातहातमा मोबाइल आएपछि आफूहरुको मादल तथा बाँसुरी बनाउने पुख्र्यौली पेसा नै सङ्कटमा पर्न थालेको वादीले बताउनुभयो । “अहिले सबैका हातहातमा मोबाइल छन् । त्यसैबाट गीत बजाउन सकिने भएपछि तिहारमा मादलभन्दा डेग खोजेर नाच्न थालेका छन्”, उहाँले भन्नुभयो, “यसले मौलिक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसासमेत सङ्कटमा परेको छ ।” गाउँघरमा जम्मा भएर नाचगान गर्नेभन्दा पनि माेवाइलबाटै गीत बजाएर नाच्ने संस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बाँसुरी बनाउने पेसा सङ्कटमा परेको उहाँको भनाइ थियो ।

उहाँको जस्तै दुखेसो छ स्वर्गद्वारी टोलका ५० वर्षीय रामप्रसाद वादीको पनि । कुनै समय मादल बिक्री गरेर पाँचजनाको परिवार पाल्ने गर्नुभएका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताउनुभयो । प्रविधिको विकासले जातीय तथा सांस्कृतिक पेसाका रुपमा रहेको मादल बनाउने पेसा नै लोप हुने अवस्थामा पुगेकामा उहाँले चिन्त व्यक्त गर्नुभयो ।

रामप्रसादले बताउनुभयो । “मादल मर्मत गर्न आउने लगभग हराइसकेका छन् । कोहीकोही नयाँ किन्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “मादल बनाएर मात्रै जीविकोपार्जन नहुने भएपछि अन्य काम गर्न बाध्य छौँ ।” मादल बनाउन आवश्यक पर्ने कच्चापदार्थ खमारीको काठ, खरीलगायत सामग्री पाउन पनि समस्या हुने गरेको उहाँको भनाइ थियो ।