राष्ट्रपतिद्वारा भारतीयस्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १ भदौ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ को दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलले जनरल सेठलाई सो सम्मान प्रदान गर्नुभएको हो ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने ऐतिहासिक र अनुपम परम्परा रहिआएको छ । सोही परम्पराको निरन्तरता स्वरूप जनरल सेठलाई यो सम्मान दिइएको हो । यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको सम्मान प्राप्त गरिसक्नुभएको छ ।

प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष सेठ आइतबार काठमाडौँ आइपुग्नुभएको हो । उहाँ तीन दिने भ्रमणका क्रममा नेपालमा रहनुहुनेछ । सोमबार नै जनरल सेठले जङ्गी अड्डा पुगेर प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय सैन्य हितका विषयमा वार्ता समेत गर्नुभएको छ ।

शीतल निवासमा आयोजित यस समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति सिग्देलसहित नेपाली सेनाका उच्च अधिकारीहरू र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थिति रहेको थियो ।