केपी ओली कपमा लुम्बिनीसँग गण्डकी पराजित

कास्की, १० मंसिर । पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशसँग गण्डकी प्रदेश ५ रनले पराजित भएकाे छ ।

लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो । गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

अर्यालले २४ बलमा ३५ रनको उत्कृष्ट पारी खेले ।गण्डकीका कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका माेहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३(२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।

बलिङमा गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

समूह बीमा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बल (एपीएफ) थिए । समूह बीमा एपीएफ, लुम्बिनी र गण्डकीको २/२ अंक छ । गण्डकीले एपीएफलाई ४ विकेट र एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो ।