पौडी प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘स्थानीय स्तरबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्न महानगरले लगानी बढाउँदै लगेको छ’

काठमाडौँ, जेठ २५ । सातदोबाटोस्थित पौडी पोखरीमा सञ्चालित ‘काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा १०३६ अङ्क प्राप्त गर्दै पुलिस क्लब समग्रमा टोलीतर्फ पहिलो भएको हो ।

विजेता टोलीलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा ७७८ अङ्कसहित निसर्ग बाटिका स्कुल दोस्रो (फस्ट रनरअप) र ५७६ अङ्कका साथ सशस्त्र प्रहरी बल (एपीएफ) को क्लब तेस्रो (सेकेन्ड रनरअप) भएका छन् । दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, ४८९ अङ्कसहित जेम्स स्कुल चौथो र २८१ अङ्कसहित त्रिभुवन आर्मी क्लब पाँचौँ स्थानमा रहन सफल भएका छन् ।

उत्कृष्ट खेलाडी
प्रतियोगिताको पुरुषतर्फ एपीएफका जेडन श्रेष्ठ र नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठ समान ३ हजार अङ्कसहित संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । महिलातर्फ ९ हजार २ अङ्क प्राप्त गर्दै नेपाल पुलिस क्लबकी देभान्सी जोशी उत्कृष्ट खेलाडी चुनिनुभयो । उत्कृष्ट दुवै विधाका खेलाडीहरूलाई जनही १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको विवरण
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित यस च्याम्पियनसिपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जेम्स, लिटिल एन्जल्स लगायत विभिन्न स्कुल तथा क्लबका १७२ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । ६ वर्षदेखि २५ वर्षसम्मको उमेर समूहका खेलाडीहरू सहभागी रहेको यस प्रतियोगितामा ५०, १००, २०० र ४०० मिटर दूरीका फ्रिस्टायल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक र बटरफ्लाईसहित कुल ३७ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

स्थानीय तहको खेलकुदमा लगानी
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्थानीय स्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यका साथ महानगरपालिकाले खेलकुद पूर्वाधार र प्रतियोगितामा लगानी बढाएको बताउनुभयो ।

समापन कार्यक्रममा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ र महासचिव ईश्वरकुमार कार्कीले महानगरको यस पहलले देशको खेल क्षेत्रमा गौरव थप्ने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितालाई व्यवस्थित बनाउन महानगरले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहितको आकस्मिक स्वास्थ्य सेवा समेत उपलब्ध गराएको थियो ।