इरान र इजरायलबीच पुनः भीषण क्षेप्यास्त्र र हवाई आक्रमण सुरु
एजेन्सी, २५ जेठ । मध्यपूर्वमा शान्ति स्थापना हुने अपेक्षाका बीच इरान र इजरायलबीच सोमबार बिहान पुनः क्षेप्यास्त्र र हवाई आक्रमण सुरु भएको छ। यस पछिल्लो सैन्य टकरावले केही समयअघि कायम भएको युद्धविराम भङ्ग हुनुका साथै क्षेत्रमा व्यापक युद्ध भड्किने जोखिम बढाएको छ।
इजरायली सैन्य अधिकारीहरूका अनुसार इरानले इजरायलतर्फ दुई चरणमा क्षेप्यास्त्र प्रहार गरेको छ। आक्रमणलगत्तै राजधानी तेल अभिभ र अन्य क्षेत्रहरूमा चेतावनी साइरन बजेको थियो भने नागरिकहरूलाई सुरक्षित आश्रयस्थलमा जान आग्रह गरिएको थियो। इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अधिकांश इरानी क्षेप्यास्त्रहरूलाई आकाशमै निष्क्रिय पारेको दाबी गरेको छ।
यसको जवाफी कारबाहीस्वरूप इजरायली वायुसेनाले सोमबार बिहानै पश्चिमी र मध्य इरानका सैन्य ठेगानाहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमहरूले तेहरान, इस्फहान, करज र तब्रिजमा ठूला विस्फोटका आवाज सुनिएको पुष्टि गर्दै राजधानी वरपरको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जनाएका छन्। इरानको क्रान्तिकारी सुरक्षा बल (आईआरजीसी) ले इजरायलले हावाबाट प्रक्षेपण गरिने ब्यालिस्टिक मिसाइल प्रयोग गरेर अन्तर्राष्ट्रिय नियमको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ।
यसैबीच, यमनबाट प्रहार गरिएको अर्को क्षेप्यास्त्रका कारण पनि इजरायलमा सतर्कता साइरन बजेको थियो। उक्त आक्रमण यमनका हुथी विद्रोहीहरूले गराएको आशङ्का गरिए पनि हालसम्म कसैले यसको जिम्मेवारी लिएको छैन। यस्तै, साउदी अरबमा रहेको अमेरिकी सैन्य अड्डा नजिक पनि क्षेप्यास्त्र चेतावनी जारी गरिएको थियो, यद्यपि केही समयपछि स्थिति सामान्य बनेको घोषणा गरियो।
द्वन्द्व बढेसँगै अन्तर्राष्ट्रिय स्तरमै तेल तथा ऊर्जा आपूर्ति र सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ। रणनीतिक जलमार्ग ‘होर्मुज जलसन्धि’ आसपासको तनाव, इरानको युरेनियम भण्डारण र यमनमा हुथी विद्रोहीका गतिविधिका कारण यो द्वन्द्व थप फैलिन सक्ने चेतावनी भू-राजनीतिक विश्लेषकहरूले दिएका छन्। इजरायलले लेबनानको बेरुतमा हिज्बुल्लाह लक्षित हवाई आक्रमण गरेपछि इरान र इजरायलबीच प्रत्यक्ष सैन्य मुठभेडको नयाँ शृङ्खला सुरु भएको हो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्दै तत्काल कडा जवाफी कारबाही नगर्न र स्थितिलाई नियन्त्रणमा राख्न आग्रह गर्नुभएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्।