एसियन गेम्स छनोट फाइनल : उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै
काठमाडौँ, २५ जेठ । सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच भिडन्त हुँदैछ। दुवै टोली अपराजित रहँदै फाइनल पुगेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
खेल सिङ्गापुरमा नेपाली समयअनुसार मध्याह्न १२:१५ बजे सुरु हुनेछ। आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले स्तब्ध पार्दै फाइनलको टिकट पक्का गरेको थियो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै २६ बलमा ४४ रन बनाए भने रोहित पौडेलले २१ र कुशल भुर्तेलले २० रनको योगदान दिए।
बलिङतर्फ करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट झारेका थिए। नेपालले यसअघि समूह चरणमा चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो। अर्कोतर्फ, हङकङले मलेसियालाई ६ विकेटले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।
आजको खेल जित्ने टोली अपराजित च्याम्पियन बन्दै एसियन गेम्सका लागि छनोट हुनेछ। फाइनल खेलअघि आजै तेस्रो स्थानका लागि ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा पराजित भएका यी दुई टोली सान्त्वना जितको खोजीमा मैदान उत्रनेछन्।