नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडाैं,२४ फागुन । साताकाे अन्तिम काराेवारका दिन नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएकाे छ ।
यसदिन नेप्से परिसूचक १३.५१ अंक बढेर २०३०.५५ विन्दुमा पुगेको हाे । यस दिन सेन्सेटिभ इण्डेक्स १.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४७ हजार ६९९ पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने मध्य भोटेकोशीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे १६ करोडको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ।