अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीद्वारा शुभकामना
काठमाडौँ, १९ वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
श्रमका विविध क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै उहाँले श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइने गरेको बताउनुभएको छ ।
श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षामा लाग्न यस दिवसले प्रेरित गरेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा उहाँले मुलुकको आर्थिक विकास प्रक्रियामा अहम् भूमिका खेल्ने श्रमिकहरूको योगदानलाई उजागर गर्दै ‘मर्यादित काम र श्रमिकको सम्मान’ गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको तथा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हामी सबैको दायित्व भएको उहाँले स्मरण गराउनुभएको छ ।
श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना‚ श्रमको सम्मान‚ उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्वराष्ट्रपतिले आह्वान गर्नुभएको छ ।