त्रिभुवन विमानस्थलबाट कपडामा लेपनगरि ल्याइएकाे पाँच किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

काठमाडाैं, ३१ वैशाख । त्रिभुवन विमानस्थलबाट पाँच किलो सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

सुनसहित पक्राउ पर्नेमा ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेका छन्।

विमानस्थल भन्सारबाट पास भएर स्वागतद्वार नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले शंकास्पद देखिएपछि सोमबार बेलुका नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि पोखरेलका अनुसार उनीहरू सोमबार बिहान करिब ३ बजे फ्लाइ दुबईको एफजेट ५७५ नम्बरको विमानबाट काठमाडौं ओर्लिएका थिए।

नियमित चेकजाँचको क्रममा प्रहरीले कुमार र गणेशनका कपडाहरू शंकास्पद देखिएपछि चेकजाँच गरकाे थियो। उनीहरूको कपडा जाँच गर्नेक्रममा सुन लेपन गरी लगाइएको फेला पारेपछि नियन्त्रणमा लिइएकाे कार्यालय प्रमुख एसएसपी पोखरेलले बताउनुभयाे ।

पक्राउ परेका दुबै जनाबाट बरामद भएको सुन जोखिसकेको छैन। तर कुमारले लगाएको टिसर्ट, भित्री बस्त्र, जिन्स पाइन्ट लगायत कपडासहित सुन अन्दाजी दुई किलो ६०० ग्राम छ भने गणेशनले लगाएको टिसर्ट, पेन्टी, जिन्स पाइन्ट कपडासहित सुन अन्दाजी दुई किलो ५०० ग्राम छ।

एसएसपी पोखरेलका अनुसार यसरी बरामद भएको सुन र अभियुक्तमाथि थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको छ।