प्रतिनिधि सभामा आज यी कार्यसूची पेश हुँदै

काठमाडाैं, ४ असार । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज मंगलबार बस्दैछ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर्नुहुनेछ ।

सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङ, राप्रपाकै रोशन कार्की, राजेन्द्रप्रसाद लिङदेन लगायत सांसदहरूले पनि विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आज गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ ।