रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल, मतदान सूचीबाट नाम हटाएको भन्दै कार्यकर्ताको विरोध

सुनसरी, २३ जेठ । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुनसरी जिल्ला अधिवेशनका क्रममा शनिबार कार्यकर्ताहरू बीच हातहालाहालकाे अवस्था सिर्जना भएको छ। नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुनुअघि असन्तुष्ट कार्यकर्ता र आयोजकबीच विवाद उत्पन्न भएको हो।

असन्तुष्ट पक्षका अनुसार ‘जेनजी’ युवा र केही रुष्ट रहेका कार्यकर्ताहरूलाई पाखा लगाएर एकलौटी ढङ्गले अधिवेशन अघि बढाउन खोजिएपछि स्थिति तनावग्रस्त बनेकाे थियो। मतदान गर्ने अधिकार पाएका केही प्रतिनिधिहरूको नाम अन्तिम समयमा आएर सूचीबाट हटाइएपछि विवादले उग्र रूप लिएको थियो।

आफ्नो नाम हटाइएको विरोधमा रुष्ट युवाहरूले बन्दसत्र हल प्रवेश गर्ने मूल ढोका नै थुनेर धर्ना दिएका थिए। प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउन खोजेपछि केहीबेर घम्साघम्सी र होहल्ला भएको थियो।

पार्टीको पहिलो जिल्ला अधिवेशनमै आन्तरिक कलह देखिएपछि रास्वपाभित्रको गुटबन्दी सतहमा आएको छ। असन्तुष्ट पक्षले नेतृत्वले विधि र प्रक्रिया मिचेको आरोप लगाउँदै आएको छ।