ज्वरो र झाडापखालाका बिरामीले दमौली अस्पताल भरिभराउ

तनहुँ, २५ साउन । तनहुँकाे सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् ।

वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएपछि बिरामीले अस्पताल भरिभराउ हुन थालेकाे हाे । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ ।

असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उहाँले भन्नुभयो, “उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन् ।”

“अस्पतालमा दैैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्”, सूचना अधिकारी डा भण्डारीले भन्नुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ ।

डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ ।