सुन्दरीजलमा युवतीको हत्या आराेपमा दुई जना पक्राउ
काठमाडौं, २३ भदाै । काठमाडाैंकाे सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।
सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । साेही घटनामा प्रहरीले सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरालाई
पक्राउ गरेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
प्रहरीका अनुसार मृतक मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् । सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा संलग्न व्यक्तिहरु शनिबार बसुन्धारा क्षेत्रबाट पक्राउ परेकाे परिसरका एसपी नवराज अधिकारीले जानकारीद दिनुभयाे ।
अधिकारीका अनुसार उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ यद्यपि, हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।
प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएपनि थप अनुसन्धान भइरहेको अधिकारीले बताउनुभएकाे छ ।