कैलालीमा बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु
काठमाडौँ, साउन २३ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका४ जनकपुर निवासी दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदीको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार, गाईवस्तुलाई खुवाउनका लागि बाल्टिनमा राखिएको पानीमा बालक डुबेका थिए । बालकलाई सोही अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी थिइन् ।
आज बिहान करिब ११ः३० बजेको समयमा बाल्टिनबाट निकालेर बालकलाई तत्काल उपचारका लागि सुखडस्थित घोडाघोडी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई दिउँसो करिब १२ः३० बजे मृत घोषणा गरेका थिए ।
प्रहरीले बालकको शव परीक्षण (पोस्टमार्टम) का लागि बौनियास्थित दोदोधरा अस्पताल पठाएको जानकारी दिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।