निर्धारित समयमै कांग्रेसको १५औँ महाधिवेशन हुन्छ : महामन्त्री पौडेल
काठमाडौँ, साउन २३ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने स्पष्ट पार्नुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं. २६ कार्यसमितिद्वारा आज आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
महामन्त्री पौडेलले पार्टीले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गर्ने तय गरिसकेकाले यसमा कुनै अन्योल नरहेको उल्लेख गर्नुभयो । “कांग्रेसले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदैछ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे ठोस निर्णय लिनेछ ।” उहाँले भन्नुभयो ।
पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र सांगठनिक रूपमा अल्मल्याउने प्रयासहरू भइरहेको दाबी गर्दै उहाँले त्यस्ता गतिविधिप्रति पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सचेत रहन आग्रह गर्नुभयो । महामन्त्री पौडेलले प्रविधिको प्रयोगमार्फत कांग्रेस सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको जानकारी दिँदै अबका निर्वाचनमा स्थानीय तहको उम्मेदवार छनोट गर्दा क्रियाशील सदस्यहरूकै भूमिका रहने गरी व्यवस्था गरिने समेत बताउनुभयो ।
सोही अवसरमा नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले लोकतन्त्रको रक्षाका लागि कांग्रेस बलियो हुनु अनिवार्य रहेको बताउँदै पार्टीभित्र एकता कायम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेशकी सहमहामन्त्री जीवन डङ्गोल, क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी, क्षेत्र नं. ६ (क) का सभापति ख्यामराज तिवारी, वडा नं. २६ का सभापति अर्जुन सिंखडा र उपसभापति गणेश रिजाललगायतले पार्टीलाई गतिशील र एकताबद्ध बनाउन नेतृत्वले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।