नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीनरूपमा समाधान गर्छाैं : मन्त्री पाण्डे

काठमाडौँ, ८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्समा देखिएका विद्यमान समस्याको दीर्घकालीनरूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल एयरलाइन्समा देखिएका समस्याहरु समाधान गर्दै भरपर्दो सेवा प्रवाह गरिने उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल एयरलाइन्समा रहेका विद्यमान समस्या पहिचान गरी दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दाे तथा विश्वसनीय बनाउन समिति गठन गरेर काम अघि बढाइसकेका छौँ ।”

मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना तथा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने बताउँदै सोका मन्त्रिपरिषद्मा ती विधेयक पेस गरिएको जानकारी दिनुभयो ।

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको पनि बताउनुभयो ।

यस अवधिमा मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाएको जनाएको छ ।

अवरुद्ध सडक सञ्जाल सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको उल्लेख गर्दै उहाँले नेपाल र इन्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरेको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनका लागि निर्देशनसमेत दिएको जनाएको छ ।

नेपालका पाँच हजार आठसयदेखि छ हजार पाँचसयसम्म उचाइका थप ५७ हिमाल आरोहणका लागि खुला गरिएको मन्त्री पाण्डेले जानकारी दिँदै पर्यटन विभागका सेवाअन्तर्गत पर्वतारोहण र होटल व्यवस्थापनलाई अनलाइन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।

यस अवधिमा ‘ग्रेट हिमालयन ट्रेल’को थप पाँच किलोमिटर पदमार्ग निर्माण् सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद्मा रहेका करिब दुई सय पर्यटकलाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठानमा पेस गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, सङ्घीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताउनुभयो ।