महिला साफ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपाल र बङ्गलादेश भिड्दै, इतिहास बदल्ने नेपाली टोलीको लक्ष्य

गोवा (भारत), २० जेठ । दक्षिण एसियाली महिला फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता ‘महिला साफ च्याम्पियनसिप’ को सेमिफाइनलमा आज नेपाली महिला राष्ट्रिय टोली बलियो प्रतिद्वन्द्वी बङ्गलादेशसँग भिड्दैछ। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु रङ्गशालामा हुने यो खेल स्थानीय समय अनुसार अपराह्न ४:०० बजे सुरु हुनेछ।

सन् २०१० देखि सुरु भएको यस च्याम्पियनसिपको १६ वर्षे इतिहासमा नेपाल हरेक संस्करणमा सेमिफाइनल पुगे पनि हालसम्म उपाधि उचाल्न सकेको छैन। पछिल्ला वर्षहरूमा नेपालका लागि बङ्गलादेश मुख्य बाधक बन्दै आएको छ। विशेष गरी सन् २०२२ र २०२४ को साफ च्याम्पियनसिप फाइनलमा बङ्गलादेशले नेपाललाई नै पराजित गर्दै उपाधि जितेको थियो।

विगत पाँच वर्षयता बङ्गलादेशले नेपालमाथि लगातार जित निकाल्दै आएको भए पनि समग्र ऐतिहासिक तथ्याङ्क अनुसार दुई देशबीच खेलिएका कुल १३ खेलमध्ये नेपालले ६ खेल जितेको छ भने बङ्गलादेशले ५ खेलमा जित हात पारेको छ। दुई खेल भने बराबरीमा सकिएका छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बङ्गलादेशविरुद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा तयार रहेको बताउनुभयो। सुरुवाती चरणमा गोवाको अत्यधिक गर्मी र आर्द्रता (ह्युमिडिटी) का कारण खेलाडीहरूमा थकान देखिए पनि अहिले टोली स्थानीय मौसमसँग अभ्यस्त भइसकेको उहाँको भनाइ छ।

प्रशिक्षक न्यौपानेले भन्नुभयो, “बङ्गलादेश शारीरिक रूपमा बलियो र सन्तुलित टोली हो। उसविरुद्ध उत्कृष्ट नतिजा निकाल्न हामीले मैदानमा पूर्ण ऊर्जा, सङ्गठित डिफेन्स र अनुशासनका साथ काउन्टर आक्रमणमा जोड दिनुपर्नेछ।”

कम्बोडियाको व्यावसायिक लिग खेलिरहेकी प्रतिभाशाली मिडफिल्डर प्रिती राई सेमिफाइनल खेलका लागि गोवा आइपुगेकी छन्, जसले नेपाली टोलीको मनोबल बढाएको छ। प्रशिक्षक न्यौपानेले प्रितीको उत्कृष्ट बल वितरण र अवसर सिर्जना गर्ने क्षमता टोलीका लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल समूह चरणमा भुटानलाई १–० र श्रीलङ्कालाई २–० ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो। श्रीलङ्काविरुद्धको खेलमा नेपाली टोलीको कप्तानी सम्हालेकी भेट्रान मिडफिल्डर रेनुका नगरकोटीले ६०औँ मिनेटमा २२ यार्ड टाढाबाट उत्कृष्ट चिप प्रहार गर्दै आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको ऐतिहासिक पहिलो गोल गरेकी थिइन्।

बङ्गलादेश भने समूह चरणमा माल्दिभ्सलाई पराजित गर्दै र भारतसँग पराजित हुँदै समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो।

आजै हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता भारत र समूह ‘ए’ को उपविजेता भुटान राती ८:०० बजे भिड्नेछन्। १६ वर्षदेखि उपाधिको नजिक पुगेर पनि खाली हात फर्किएको नेपाली टोली यसपटक पुरानो इतिहास बदल्ने दृढ संकल्पका साथ मैदान उत्रँदैछ।