आरोहणको ‘जेठो हिमाल’ अन्नपूर्ण: गण्डकीको गौरव र विश्व पर्यटनको प्रस्थानविन्दु
काठमाडौँ, जेठ २१ । विश्व पर्वतारोहणको इतिहासमा जुन ३ एउटा यस्तो ऐतिहासिक दिन हो, जसले नेपाललाई विश्वका साहसी आरोहीहरूको गन्तव्यका रूपमा चिनाउने ढोका खोलिदियो। सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली आरोही मौरिस हर्जोग र उनको टोलीले म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण प्रथम (८,०९१ मि.) को शिखरमा पाइला टेकेका थिए। यो मानव जातिले आठ हजार मिटरभन्दा अग्लो हिमालमा प्राप्त गरेको पहिलो सफलता थियो।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण हुनुभन्दा तीन वर्षअघि नै अन्नपूर्णले ‘जेठो हिमाल’का रूपमा ख्याति कमाएको थियो। आज त्यही ऐतिहासिक दिनको सम्झनामा गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रले ‘अन्नपूर्ण आरोहण दिवस’ मनाइरहेको छ।
पर्यटनको जग र पोखराको उदय
तथ्याङ्कअनुसार सन् १९५० अघि पोखरामा विदेशी पर्यटकको आगमन नगण्य थियो। मौरिस हर्जोगको सफल आरोहण र उनले लेखेको ‘अन्नपूर्ण’ नामक पुस्तकले विश्वभर यस क्षेत्रको सुन्दरताको चर्चा फैलायो। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार, अन्नपूर्ण आरोहण नै त्यस्तो प्रस्थानविन्दु थियो जसले पोखरा र समग्र गण्डकी प्रदेशलाई विश्वको पर्यटकीय नक्सामा स्थापित गर्यो।
अन्नपूर्ण क्षेत्र अहिले विश्वकै उत्कृष्ट पदमार्ग (अन्नपूर्ण सर्किट) का रूपमा परिचित छ। यस क्षेत्रलाई ७ हजार ६ सय २९ वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले संरक्षण गर्दै आएको छ, जसमा मनाङ, मुस्ताङ, म्याग्दी, कास्की र लमजुङका भू–भागहरू समेटिएका छन्।
दिवसका अवसरमा विभिन्न कार्यक्रम
अन्नपूर्ण आरोहण दिवसको गरिमालाई जोगाउन यस वर्ष पनि गण्डकी प्रदेशमा उत्साहजनक कार्यक्रमहरू आयोजना गरिएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म ‘अन्नपूर्ण म्याराथन’को आयोजना गरेको छ। त्यसैगरी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले लमजुङको दोर्दी क्षेत्रको प्रवर्द्धन गर्दै जलवायु परिवर्तनले पर्वतीय पर्यटनमा पारेको असरबारे अन्तक्र्रिया कार्यक्रम राखेको छ।
चुनौती र सम्भावना
अन्नपूर्णले विश्वव्यापी पहिचान दिलाए पनि यसको अपेक्षित उपयोग हुन नसकेको पर्वतारोहण क्षेत्रका विज्ञहरूको गुनासो छ। नेपाल पर्वतारोहण सङ्घ गण्डकीका अध्यक्ष विकास गुरुङ भन्नुहुन्छ, “अन्नपूर्ण आरोहणको इतिहास निकै पुरानो भए पनि सगरमाथाको छायामा परेको देखिन्छ। यसको ऐतिहासिक महत्त्वलाई अझ बढी अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्न आवश्यक छ।”
पछिल्लो समय जथाभावी सडक खन्ने क्रमले २१ दिनको प्रसिद्ध पदमार्ग ५–७ दिनमा छोटिएकोमा पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार, पुराना पदमार्गहरू जोगाउँदै नयाँ वैकल्पिक मार्गहरूको पहिचान र विकास गर्नु अहिलेको मुख्य चुनौती हो।
अन्नपूर्ण केवल एउटा हिमाल मात्र होइन, यो गण्डकी प्रदेशको आर्थिक मेरुदण्ड र नेपाली पर्वतीय पर्यटनको आत्मा हो। अन्नपूर्ण, धवलागिरि र मनास्लुजस्ता हिमशृङ्खलाको काखमा रहेको यो प्रदेशले हिमाल आरोहण र पदयात्रालाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सकेमा मात्र मौरिस हर्जोगले ७४ वर्षअघि देखाएको त्यो साहसको वास्तविक सम्मान हुने देखिन्छ। संरक्षण, प्रवर्द्धन र जलवायु अनुकूलनका कार्यक्रमहरूलाई सँगसँगै लैजानु नै अन्नपूर्ण क्षेत्रको दीगो भविष्यका लागि अनिवार्य शर्त बनेको छ।