नेप्से करिब १८ अंले बढ्याे, कारोबार रकम भने घट्याे

काठमाडाैं, १८ मङ्सिर । नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब २० अंक बढेर बन्द भएको नेप्से, मंगलबार पनि करिब १८ अंक बढेको हाे ।

यस दिन नेप्से परिसूचक १७.८० अंक बढेर २७७५.८५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन साढे १० अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८८ हजार ७७५ पटकको कारोबारमा ८ अर्ब ५२ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दिव्यश्वरी हाइड्रोपावर, इंगवा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जानकी फाइनान्सको साढे २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बेस्ट फाइनान्सको २४ करोडभन्दा बढीको शयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.९६ प्रतिशत बढेको छ।