गोरखामा आगलागी हुँदा तीन वटा घर पूर्णरुपमा जलेर नष्ट

काठमाडाैं, १० माघ । गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

आज साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुर्वप्रसाद शर्माले जानकारी दिनुभयो ।

खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको उहाँले बताउनुभयो ।

आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिनुभयो ।

त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उहाँको भनाइ छ । सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी प्राप्त भए लगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको जनाएका छन् ।