सरकार र दुर्गा प्रसाईंको महाअभियानबीच औपचारिक वार्ता सुरु, माग सम्बोधनका लागि सिंहदरबारमा छलफल
काठमाडौँ, २ भदौ । नेपाल सरकार र व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ बीच मङ्गलबारदेखि औपचारिक वार्ता सुरु भएको छ । महाअभियानले उठाएका विभिन्न मागहरूका विषयमा सहमति खोज्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच संवाद सुरु भएको हो ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले वार्ताका लागि गरेको आह्वानलाई स्वीकार गर्दै महाअभियानले वार्ता टोली पठाएपछि संवादको प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो ।
सरकारले भदौ १ गते सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् ।
महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली खटाएका छन् ।
महाअभियानले बैंक तथा वित्तीय संस्थाको ब्याजदर, लघुवित्त र सहकारी पीडितका समस्या, धर्म र संस्कृतिको रक्षा लगायतका विभिन्न मुद्दाहरू उठाउँदै आन्दोलन गर्दै आएको छ । सरकारी पक्ष र महाअभियानबीचको यो औपचारिक संवादले लामो समयदेखि सडकमा देखिएको आन्दोलनलाई निष्कर्षमा पुर्याउने अपेक्षा गरिएको छ ।