अभ्यास खेलमा नेपालको सानदार जित: कर्नाटक ११६ रनले पराजित, बलरहरूको घातक बलिङ

काठमाडौँ, २ भदौ । तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमै सानदार जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा नेपालले कर्नाटकको राज्यस्तरीय टोलीलाई ११६ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदै १८८ रनको मध्यम योगफल तयार पारेको थियो । नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले सर्वाधिक ४९ रन बनाए । उनले ७० बलको सामना गर्दै दुई चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, टोलीका लागि इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले समान २७/२७ रनको योगदान दिए । बसिर अहमद १९ रनमा अविजित रहँदा गुलशनकुमार झाले ११ रन जोडे । कर्नाटकका लागि घातक बलिङ गरेका कृति एमले ८ ओभरमा २० रन खर्चिएर ५ विकेट लिएका थिए ।

१८९ रनको लक्ष्य पछ्याएको कर्नाटकको ब्याटिङ नेपाली बलरसामु टिक्न सकेन । घरेलु टोली २८ ओभरमा मात्र ७२ रनमा समेटियो । कर्नाटकका लागि शरथ श्रीवास्तावले अविजित ३२ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालको जितमा बलिङतर्फ करण केसी, ललितनारायण राजवंशी, शेर मल्ल र बसिर अहमदले २/२ विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछाने र हेमन्त धामीले १/१ विकेट चट्काए ।

नेपालले भारत भ्रमणका क्रममा थप एक अभ्यास खेल खेल्ने तालिका छ । १० दिने विशेष प्रशिक्षण सकाएपछि नेपाली टोली भारतबाटै सिधै प्रिमियर कप खेल्न मलेसिया प्रस्थान गर्नेछ ।

एसिसी प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेल आगामी भदौ १५ गते बहराइनविरुद्ध खेल्नेछ । त्यसपछि नेपालले समूह चरणमा मलेसिया, साउदी अरेबिया र हङकङको सामना गर्नेछ ।