तनहुँको शुक्लागण्डकीमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

काठमाडाैं, २० माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा टिपरकाे ठक्करले स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्रीकाे मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको पहरीले जनाएको छ ।