झापा प्रहरी ब्यारेकमा सई खतिवडा झुण्डिएको अवस्थामा मृत फेला
झापा, ४ फागुन । जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमा एक प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन्।
सई धनराज खतिवडा आज बिहान ब्यारेकको माथिल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने ४९ वर्षीय खतिवडा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए। उनी पानीको ट्यांकीमा जाने भर्याङमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकका आफन्तलाई जानकारी गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।