बझाङ जीप दुर्घटना अपडेट: गम्भीर घाइते ६ जनाको ‘हेलिकोप्टरमार्फत उद्धार’, थप उपचारका लागि नेपालगञ्ज पठाइयो

बझाङ, २८ असार । बझाङको केदारस्युँ गाउँपालिका–७ सुगुरेमा शनिबार भएको बोलेरो जीप दुर्घटनाका गम्भीर घाइते ६ जनालाई आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। शनिबार प्रतिकूल मौसमका कारण सम्भव हुन नसकेपछि आज बिहान सबेरै उद्धार गरिएकाे हो।

जिल्ला अस्पताल बझाङका अनुसार प्राथमिक उपचारपछि स्वास्थ्य अवस्था थप जटिल देखिएका ६ जनालाई नेपालगञ्ज सिफारिस गरिएको छ। नेपालगञ्ज पठाइएका घाइतेहरूमा हर्का देवी महता, जयमती देवी महता, देवबहादुर धामी, रामबहादुर महता (४८ वर्ष), रामबहादुर महता (३५ वर्ष) र झल्का देवी महता रहेका छन् ।

अस्पतालका अनुसार यी घाइतेहरूको टाउको, मेरुदण्ड, कम्मरलगाएतमा गम्भीर चोट लागेको छ भने कतिपयको हातखुट्टामा खुला चोटसहितको हड्डी भाँचिएको देखिएको छ।

शनिबार दिउँसो करिब ४:०० बजे दुर्घटना लगत्तै घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको थियो। तर, पहाडी क्षेत्रमा बाक्लो कुहिरो र खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनास्थलमा अवतरण हुन नसकेपछि सदरमुकाम चैनपुरमा ‘स्ट्यान्ड बाइ’ बसेको थियो। रातभर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्‍याइएका घाइतेहरूलाई आज बिहानै मौसममा सुधार आएलगत्तै नेपालगञ्ज लगिएको हो।

बाँकी ६ जना घाइतेहरूको भने जिल्ला अस्पताल बझाङमै उपचार भइरहेको छ। अस्पतालकी मेडिकल अधिकृत डा. प्रतिमा भण्डारीका अनुसार: हासुली देवी महता र वीरबहादुर जाग्रीकाे अवस्था हाल स्थिर छ भने धनेसेर जाग्री, रमेश धामी, नवराज धामी र दीपेन्द्र जाग्रीको अवस्था सामान्य रहेको छ।

बुङ्गल नगरपालिका–विजगडाबाट दुर्गाथलीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ च २६४४ नम्बरको बोलेरो जीप सुगुरेमा दुर्घटना हुँदा सवार १६ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो।