६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, १२ फागुन । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पहाडी भेगमा मौसम बदली भएको छ। कोशी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पछिल्लो २४ घण्टामा कोशी प्रदेशमा धेरै वर्षा भएको छ। मोरङको केराबारी स्टेसनमा ४०१.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।