मनाङबाट यस वर्ष ४६ विद्यार्थीले एसईई दिने
मनाङ, ४ चैत । यही चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मनाङबाट ४६ जना विद्यार्थी सहभागी हुने भएका छन्।
परीक्षा केन्द्र सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा तोकिएको छ। शिक्षा समन्वय इकाई मनाङका प्रमुख धु्रवप्रसाद कोइरालाका अनुसार नियमिततर्फ ४१ र ग्रेडवृद्धितर्फ ५ परीक्षार्थी सहभागी हुनेछन्।
मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमि गाउँपालिकाबाट कोही पनि परीक्षार्थी छैनन्। नासोँ गाउँपालिकाको प्रकाशज्योति माध्यमिक विद्यालयबाट २१, ङिस्याङ गाउँपालिकाको अन्नपूर्ण माध्यमिक विद्यालयबाट ४ र चामे गाउँपालिकाको लोकप्रिय माध्यमिक विद्यालयबाट १६ जना परीक्षामा सहभागी हुनेछन्। प्रकाशज्योति माध्यमिक विद्यालयबाट २ र लोकप्रिय माध्यमिक विद्यालयबाट ३ जनाले ग्रेडवृद्धि परीक्षा दिनेछन्।