नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम ५ अर्ब ७९ करोडमाथि
काठमाडौँ, १९ चैत । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १६.९५ अङ्कले घटेर २,०७६.१७ विन्दुमा कायम भएको हो।
आज कुल ३२० कम्पनीहरूको सक्रिय कारोबार भएको थियो। दिनभरिमा ५६ हजार ५४८ पटक भएको कारोबारमा एक करोड ६ लाख ७० हजार ६४९ कित्ता शेयर किनबेच भएका छन्। यसबाट कुल रु. ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
मंगलबार कारोबारमा आएका समूहगत उपसूचकहरूमध्ये व्यापार समूहको उपसूचक सर्वाधिक ३.८० प्रतिशतले बढेको छ। यसबाहेक अन्य सबै समूहका उपसूचकहरू ओरालो लागेका छन्। बैंकिङ समूह ०.७४ प्रतिशत, विकास बैंक ०.९५ प्रतिशत, वित्त १.८४ प्रतिशत, होटल तथा पर्यटन १.७४ प्रतिशत, जलविद्युत् ०.९९ प्रतिशत, लगानी ०.४४ प्रतिशत, जीवन बीमा ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५२ प्रतिशत, लघुवित्त १.१० प्रतिशत, म्युचुअल फन्ड ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३८ प्रतिशत र अन्य समूह १.३९ प्रतिशतले घटेका छन्।
आजको कारोबारमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, अर्थात् यो सर्वाधिक कमाउने कम्पनी बन्यो। अर्कोतर्फ, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ५.५६ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको रु. ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका ६ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन्।