उत्कृष्ट कामले नै विरोधीहरूलाई परास्त गर्छु : उपप्रमुख डंगोल

काठमाडौं, ११ वैशाख । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफूले राम्रो काम गर्दा आफूले राम्रो काम गरेको देख्न नचाहनेहरूले आक्रमण गरिरहेको महसुस भएको बताउनुभएकाे छ ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार नेकपा एमालेले भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

उपमेयर डंगोलले आफूले राम्रो काम गरेको देख्न नचाहनेहरूले आक्रमण गरिरहेको महसुस भएको बताउनुभयाे । ‘मैले गरेको काम देशभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो… तर त्यसले हाम्रा देशका विरोधीहरूलाई पोल्यो,’ उहाँले भन्नुभयाे, ‘आधारहिन रुपमा जथाभावी आक्रमण गरिरहे। ती आक्रमण गर्नेहरु राष्ट्रविरोधी हुन् अहिले पनि सल्बलाइरहेका छन्।’

उहाँले नेकपा एमाले, (तत्कालीन) प्रधानमन्त्री केपी शर्मा ओली र आफूमाथि भइरहेका आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्ने बताउनुभयाे । ‘एमाले, प्रधानमन्त्री केपी ओली र ममाथिको आक्रमणलाई अझ उत्कृष्ट कामबाटै परास्त गर्छु,’डंगोलले भन्नुभयाे ।