‘बिटुमिन’ अभावले अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा काम रोकियो, २ महिनादेखि कालोपत्र ठप्प
काभ्रेपलाञ्चोक, ४ असार । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य पुनः प्रभावित भएको छ। ‘बिटुमिन’ (कालोपत्रमा प्रयोग हुने कच्चा पदार्थ) को अभावका कारण विगत दुई महिनादेखि सो सडकखण्डमा पिच गर्ने कार्य पूर्ण रूपमा बन्द भएको हो।
गत चैतमा रातको समयमा सवारी आवागमन रोकेर तीव्र गतिमा सुरु गरिएको कालोपत्र (पिच) को काम वैशाख लागेसँगै ठप्प भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। स्तरोन्नति भइरहेको कुल ४ किलोमिटर सडकमध्ये हालसम्म २.५ किलोमिटरमा पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ। बाँकी रहेको १.५ किलोमिटर सडक भने बिटुमिन नहुँदा पक्की हुन सकेको छैन।
डिभिजन सडक कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार वैशाखको पहिलो सातादेखि नै बाँकी काम सक्ने योजना रहे पनि कच्चा पदार्थ आयात नहुँदा समस्या परेको हो। “हामीले पहिलो चरणमा पिच भएको २.५ किमीमा दोस्रो तह थप्ने र बाँकी दूरीमा पिच गर्ने तयारी गरेका थियौँ,” योगेशले भने, “तर बिटुमिन अभावले दुई महिनादेखि काम ठप्प छ।”
राजमार्गको काम रोकिएपछि यात्रुहरूले सास्ती खेप्नुपरेको छ। सडक कार्यालयले तत्कालका लागि यात्रा सहज बनाउन पक्की हुन बाँकी भागमा खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ। बिटुमिन आयात हुनासाथ दोस्रो चरणको पक्की कार्यलाई तीव्रता दिइने कार्यालयले जनाएको छ।
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको यो सडक विस्तारका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनी ‘सी–एन ए–वान काली जेभी’ सँग सम्झौता गरिएको थियो। भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा आगामी पुस महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लागेको हो।
यसअघि तोकिएको समयमा काम नसकेको भन्दै ‘गौरी–पार्वती निर्माण सेवा’ को ठेक्का रद्द गरिएको थियो। सो कम्पनीले २२ महिनाको समय पाउँदा पनि २५ प्रतिशत मात्रै काम सकेको थियो।
धुलिखेल–खावा सडकखण्ड नेपाललाई चीनको तातोपानी नाकासँग जोड्ने मुख्य व्यापारिक मार्ग हो। साथै, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जाने हजारौँ सवारीसाधन दैनिक यही बाटो भएर गुड्छन्। राजमार्गको महत्वपूर्ण खण्डमा काम रोकिँदा व्यापारिक ढुवानी र सर्वसाधारणको यात्रामा प्रत्यक्ष असर परेको छ।