इन्जुरी समयमा कालेबको निर्णायक गोल, पानामालाई हराउँदै घानाको विजयी सुरुवात
काठमाडौँ, ४ असार । फिफा विश्वकप फुटबल २०२६ को समूह ‘एल’ अन्तर्गतको प्रतिस्पर्धात्मक खेलमा घानाले पानामामाथि रोमाञ्चक जित हात पारेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबार सम्पन्न खेलमा घाना १–० गोल अन्तरले विजयी भएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि इन्जुरी समयमा घानाले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
खेलको निर्धारित ९० मिनेटको समयसम्म पानामाले घानालाई कडा चुनौती दिएको थियो । तर, दोस्रो हाफको अतिरिक्त (इन्जुरी) समयमा कालेब यिरेनकीले गोल गर्दै घानालाई महत्वपूर्ण ३ अङ्क दिलाए । उनको यो गोल नै खेलको निर्णायक सावित भयो । हारसँगै पानामाले विश्वकपको आफ्नो पहिलो खेलमा अङ्क जोड्ने सुनौलो मौका गुमाएको छ ।
यो जितसँगै समूह ‘एल’ मा घानाले ३ अङ्क जोड्दै सुखद सुरुवात गरेको छ । यस समूहमा इङ्ग्यान्ड ३ अङ्कसहित शीर्ष स्थानमा छ भने समान ३ अङ्क भए पनि गोल अन्तरका आधारमा घाना दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा हार बेहोरेका पानामा र क्रोएसिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
विश्वकप अन्तर्गत नै आज समूह ‘के’ को अर्को महत्वपूर्ण खेल हुँदैछ । नेपाली समय अनुसार आज साँझ ७:४५ बजे उज्वेकिस्तान र कोलोम्बियाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली विश्वकपमा प्रभावशाली सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।