संसद्मा आज पनि बजेटमाथि छलफल, सम्बन्धित मन्त्रीहरूले जवाफ दिँदै
काठमाडौँ, ४ असार । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट (विनियोजन विधेयक) माथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आज एकैदिन दर्जनभन्दा बढी मन्त्रालय र निकायहरूको बजेटमाथि छलफल र मन्त्रीहरूको स्पष्टीकरण हुनेछ ।
आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयका शीर्षकमाथि मन्त्रीहरूले जवाफ दिनेछन् ।
यसैगरी गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको पनि जवाफ दिइनेछ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमा समेत सम्बन्धित मन्त्रीहरूले प्रष्टीकरण दिने कार्यसूची छ ।
मन्त्रीहरूको जवाफ सकिएपछि सभामुखले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा सांसदहरूले दर्ता गराएका ‘खर्च कटौतीका प्रस्ताव’हरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । विपक्षी दलका सांसदहरूले बजेटमा व्यापक सुधारको माग गर्दै विभिन्न मन्त्रालयमा १ रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौतीका प्रस्ताव पेश गरेका छन् ।
खर्च कटौतीका प्रस्तावहरू अस्वीकृत भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि मन्त्रालयगत शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नहरूमा बजेटको सन्तुलन नमिलेको, पहुँचवालाका क्षेत्रमा बजेट थुपारिएको र कृषि तथा उत्पादनमा ध्यान नदिएको भन्दै आलोचना हुँदै आएकाे छ ।