गोल्डकोस्ट ओपनमा अशोक उत्कृष्ट निर्णायक
काठमाडौँ, वैशाख २१ गते । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का आइतबार अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट रेफ्री घोषित भएका छन् । सो प्रतियोगितामा ४० भन्दा बढी अन्तर्राष्ट्रिय निर्णायक सहभागी भएको बताइएको छ ।
दुई दिने प्रतियोगितामा अशोकले ग्यारोगी तथा पुम्से दुवै विधामा निर्णायकको भूमिकामा रहेका थिए । सो प्रतियोगतामा नेपालका अदिश खड्काले १७ वर्ष मुनि इन्डिभिजुयल पुम्सेमा स्वर्ण पदक जितेका छन् ।
अशोक नेपालका ग्यारोगी तथा पुम्स दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनी पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक पनि हुन् । टोकियो पारा ओलम्पिक र पेरिस ओलम्पिक क्याम्पमा समेत पर्न सफल भएका खड्काले ५० भन्दा बढी विश्व वरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट ‘उत्कृष्ट रेफ्री’का रूपमा सम्मानित भएका खड्का नेप्लिज तेक्वन्दो एकेडेमीका अध्यक्ष समेत हुन् ।