पर्सामा अवैध चोरी तस्करी रोक्न ‘सिसी क्यामेरा’ जडान

पर्सा, ६ जेठ । पर्सा जिल्लामा अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्ने उद्देश्यले विभिन्न आठ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ।

स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार सोमबार वीरगञ्जकाे छपकैया, सिर्सिया, बलिरामपुर र अलौँमा गरी आठ क्यामेरा जडान भएका हुन्।

आइतबार वीरगञ्ज भन्सारका कर्मचारी र सुरक्षाकर्मीले क्यामेरा जडान गर्न खोज्दा अवरोध भएपछि सोमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा उच्चस्तरीय टोली पुगेर जडान कार्य सम्पन्न गरेको हो। उक्त टोलीमा भन्सार प्रमुख दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरीका गणपति राधेश्याम धिमाल लगायतको उपस्थिति थियो।

प्रजिअ अर्यालले समितिको निर्णयअनुसार सम्भावित चोरी निकासी हुने ठाउँमा क्यामेरा जडान गरिएको बताउँदै यसले भन्सार छली निरुत्साहित गर्ने, तस्करीमा मनोवैज्ञानिक असर पार्ने र सुरक्षाकर्मीमाथिको दुर्व्यवहार घटाएर दोषीलाई कारबाही गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लामिछानेले पहिलो चरणमा कार्यालयको आन्तरिक स्रोतबाट क्यामेरा जडान गरिएको र आगामी दिनमा पर्सा तथा बाराका छोटी भन्सार, नाका एवं अन्य संवेदनशील स्थानमा पनि विस्तार गरिने योजना रहेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *