काठमाडौं उपत्यका बन्दको घोषणा फिर्ता
काठमाडौं, १९ जेठ । संयुक्त जनआन्दोलन समितिले आज जेठ १९ गतेका लागि घोषणा गरेको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा भएपछि बन्द फिर्ता लिइएको समितिले जनाएको छ ।
कमल थापा, दीपक सिंह लगायतलाई रिहाइको माग गर्दै समितिले उपत्यका बन्दको घोषणा गरेको थियो । हिजो जेठ १८ गते नारायणचौरमा भएको प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
“हिरासतमा लिइएका सबै साथीहरू रिहा भइसकेकोले जेठ १९ गतेको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराउँछौं,” नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी थापालाई नियन्त्रणमा लिएको थियो । बन्द फिर्ता भएसँगै उपत्यकाको जनजीवन सामान्य बन्ने भएको छ ।
