करण केसी चम्किँदा नेपालद्वारा कीर्तिमानी लक्ष्य सफलतापूर्वक पछ्याउँदै स्कटल्याण्डमाथि रोमाञ्चक जित

काठमाडौं, २० जेठ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा भएको रोमाञ्चक खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।

करण केसीको अविस्मरणीय ब्याटिङ प्रदर्शनमा नेपालले प्रतियोगितामा शानदार सुरुवात गरेको हो।
स्कटल्याण्डले प्रस्तुत गरेको २९७ रनको विशाल लक्ष्य नेपालले खेलको अन्तिम बल बाँकी रहँदा ९ विकेटको क्षतिमा भेट्टायो। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो। यस जितका नायक करण केसीले मात्र ४१ बलमा अविजित रहँदै ६५ रनको विष्फोटक इनिङ्स खेले।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ५३ रनको महत्वपूर्ण योगदान दिए। त्यसैगरी, गुल्शन झाले ४२ रन, भीम सार्कीले ४० रन तथा कप्तान रोहित पौडेलले ३७ रन जोडे। यसअघि नेपालले क्यानडाविरुद्ध २८७ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको कीर्तिमान थियो।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रनको योगफल तयार पारेको थियो। स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे। फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० तथा म्याथ्यु क्रसले ३९ रनको योगदान दिए।

नेपालको बलिङमा करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १ मेडन राखेर ४३ रन खर्चिंदै २ विकेट लिए। सोमपाल कामी र रिजन ढकालले पनि समान २-२ विकेट हात पारे भने सन्दीप लामिछानेले १ विकेट लिए। सोमपालले १० ओभरमा ६६ रन तथा रिजनले १० ओभरमा ७८ रन खर्चिए।
स्कटल्याण्डका बलर ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए। ज्याक जार्भिस र माइकल लिस्कले २-२ विकेट तथा जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए।

यो जितसँगै नेपालले लिग २ मा १३ खेलबाट ८ अंक जोडेको छ र अंक तालिकामा आठौंबाट सातौं स्थानमा उक्लिएको छ। पराजित स्कटल्याण्ड १७ खेलमा २० अंकसहित चौथो स्थानमा यथावत छ।