कतारमाथि बमबारी गरेको नेतान्याहुको खुलासा: गाजामा पठाइएको रकमको बचाउ

 

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कतारमाथि बमबारी गरेको स्वीकार गर्दै सो घटनाप्रति गर्व व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक अन्तर्वार्तामा उनले कतारलाई ‘शत्रु राष्ट्र’ को संज्ञा दिँदै गाजामा पठाइएको कतारी कोषको समेत बचाउ गरेका छन्।

इजरायली सञ्चारमाध्यम ‘i24NEWS’ लाई दिएको अन्तर्वार्तामा नेतान्याहुले भने, “मैले कतारमाथि आक्रमण गरेँ, युद्धका क्रममा उनीहरूमाथि बमबारी पनि गरेँ।” यो खुलासा ९ सेप्टेम्बर २०२५ मा दोहामा भएको इजरायली हवाई आक्रमणको पहिलो वर्षगाँठको केही दिनअघि आएको हो। सो आक्रमणमा हमासका ५ सदस्य र एक कतारी सुरक्षा अधिकारीको मृत्यु भएको थियो।

त्यतिबेला कतारले उक्त आक्रमणलाई “अन्तर्राष्ट्रिय कानुन र मापदण्डको ठाडो उल्लङ्घन” भन्दै कडा निन्दा गरेको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सो स्ट्राइकलाई कतारको सार्वभौमसत्तामाथिको गम्भीर प्रहार बताएका थिए। पछि ह्वाइट हाउसमा भएको भेटमा नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्रीसँग सो घटनाका लागि माफी मागेका थिए।

गाजा कोषको बचाउ
अन्तर्वार्ताका क्रममा नेतान्याहुले गाजामा करोडौँ डलर कतारी कोष पठाउन इजरायलले गरेको सहजीकरणको पनि बचाउ गरे। इजरायली गुप्तचर निकाय ‘मोसाद’ र ‘शिन बेट’ को सिफारिसमा मानवीय प्रयोजनका लागि मात्र सो रकम पठाइएको उनको दाबी छ।

“यो रकम गाजामा भित्रिएको कुल रकमको मात्र २ प्रतिशत हो,” नेतान्याहुले भने। नेतान्याहुका आलोचकहरूले भने उक्त रकम हमासले ७ अक्टोबर २०२३ को आक्रमणको तयारीका लागि प्रयोग गरेको आरोप लगाउँदै आएका छन्। कतारले भने यी आरोपहरूको खण्डन गर्दै आफ्नो सहायता पूर्ण रूपमा पारदर्शी रहेको र अमेरिकालाई समेत यसबारे जानकारी रहेको स्पष्ट पारेको छ।

निर्वाचन लक्षित रणनीति?
आगामी २७ अक्टोबरमा इजरायलमा आम निर्वाचन हुँदैछ। गाजा युद्ध सुरु भएयताको यो पहिलो निर्वाचन हो। विश्लेषकहरूका अनुसार निर्वाचनको मुखमा राष्ट्रवादी समर्थन जुटाउन नेतान्याहुले अन्य राष्ट्रहरूसँगको तनावलाई बढावा दिने रणनीति अपनाएका छन्।

हाल इजरायलमा गाजा युद्धको व्यवस्थापन, खस्कँदो अर्थतन्त्र र इरानसँगको द्वन्द्व मुख्य चुनावी मुद्दा बनेका छन्। निर्वाचन नजिकिँदै गर्दा नेतान्याहुले आफ्ना कट्टरपन्थी मतदाताहरूलाई रिझाउन यस्ता आक्रामक अभिव्यक्तिहरू दिइरहेको ठानिएको छ।