भोटेकोशी बाढी : रसुवामा मात्रै ३ हजार ७१ जना बेपत्ता, २५ वटा पुल र १५ सय घर ध्वस्त
रसुवा, २१ भदौ । चीनको तिब्बतस्थित ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा जिल्लामा अकल्पनीय जनधनको क्षति पुर्याएको छ। विपद्पछिको खोज र उद्धार कार्य जारी रहे पनि अझै ३ हजार ७१ जना नागरिकहरूको अवस्था अज्ञात रहेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार हालसम्म १ हजार २२७ नेपाली र ८६ विदेशी पर्यटक गरी कुल १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ। बाढीका कारण गोसाइँकुण्ड क्षेत्रमा अलपत्र परेका १४५ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ। यद्यपि, सम्पर्कविहीन हुनेहरूको सङ्ख्या निकै डरलाग्दो छ। बेपत्ता हुनेहरूमा सुरक्षार्मी र राष्ट्रसेवक कर्मचारी समेत रहेका छन् ।
बेपत्ता हुनेहरूमा २७ नेपाली सेना (श्रीनाथ गण), २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ बैंक कर्मचारी रहेका छन् भने १ हजार ३७० रसुवावासी, १ हजार २६२ अन्य जिल्लाका नागरिक र २६६ विदेशी पर्यटक रहेका छन् ।
बाढीमा परी ज्यान गुमाउने ६ जनाको सनाखत भई आफन्तलाई शव बुझाइसकिएको छ। सनाखत हुनेहरूमा जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ, आशिष बानियाँ र छिरिङ ग्याल्मो तामाङ रहेका छन्। अन्य विभिन्न स्थानमा भेटिएका १६३ वटा शवको डिएनए परीक्षण र पहिचानका लागि मुचुल्का उठाउने कार्य भइरहेको प्रशासनले जनाएको छ।
बाढी र पहिरोले रसुवाको पूर्वाधारलाई तहसनहस बनाएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार: १ हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने २८ सरकारी कार्यालय, ८ सामुदायिक विद्यालय, ३ निजी विद्यालय र १४ बैंकका भवन ध्वस्त भएका छन् ।
सडकमा ४१ किलोमिटर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका ६ पक्की पुल, ८ ट्रस/बेलीब्रिज, १ आर्च पुल र १० झोलुङ्गे पुल गरी कुल २५ वटा पुल बगाएका छन् भने जिल्लाका ८ वटा जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेका छन् ।