भोटेकोशी बाढी : चार जिल्लाका ५५ खानेपानी आयोजनामा ६४ करोडको क्षति

काठमाडौँ, २१ भदौ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्रारम्भिक विवरणअनुसार यी आयोजनाहरूमा करिब ६४ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

विभागका अनुसार बाढीबाट सबैभन्दा बढी नुवाकोट जिल्ला प्रभावित भएको छ । त्यहाँका २२ वटा खानेपानी आयोजनामा मात्रै ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । यसका साथै धादिङमा २०, रसुवामा ८ र गोरखामा ५ वटा खानेपानी आयोजना बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका छन् ।

बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल पानी उपलब्ध गराउन विभागले विशेष पहल सुरु गरेको छ । विभागका महानिर्देशक कमलराज श्रेष्ठले प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको पहिचान र क्षतिग्रस्त संरचनाको मर्मतलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

विदुर खानेपानी आयोजनाको सेवा सुचारु गर्न १०० केभीए क्षमताको डिजेल जेनेरेटर परिचालन गरी दैनिक करिब ५ लाख लिटर पानी वितरण भइरहेको छ । यस्तै, बट्टार क्षेत्रका ५०० घरपरिवारका लागि सातवटा पम्पमार्फत सेवा सुचारु गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा पानी पुर्‍याउने काम भइरहेको छ ।

बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी र गजुरीका बाँकी क्षेत्रमा सेवा विस्तार गर्न विभागले आवश्यक प्राविधिक सामग्रीको व्यवस्थापन गरिसकेको छ । यसका लागि १४ वटा पम्प, ठुला ट्याङ्की र करिब ४१ किलोमिटर एचडीपीई पाइप तयारी अवस्थामा राखिएको छ ।

प्राविधिक टोलीले अहिले कार्यक्षेत्रमा खटिएर मर्मतको काम गरिरहेको र क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेकाले सोहीअनुसार दीर्घकालीन पुनर्निर्माणका कार्यक्रम तय गरिने विभागले जनाएको छ । बाढीपछि खानेपानीको अभाव हुन नदिन सरकारले राहत र पुनर्स्थापनालाई सँगसँगै अघि बढाएको छ ।