तीनकुने प्रदर्शन प्रकरण : राप्रपा महामन्त्री धवलशम्शेर अदालतमा उपस्थित, आजै थुनछेक बहस
काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा सांसद डा. धवलशम्शेर राणा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुभएको छ ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, राणा सोमबार बिहान आफैँ अदालत पुग्नुभएको हो । न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उहाँको बयान लिने काम सुरु भएको छ । बयान सकिएलगत्तै थुनछेक बहस हुने र इजलासले उनलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्नेबारे आदेश दिनेछ ।
गत चैत १५ गते राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले राणा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध मुद्दा चलाएको थियो । उनीहरू दुवै हाजिरी जमानीमा छुटेका थिए ।
यस प्रकरणमा रवीन्द्र मिश्र भने अझै फरार सूचीमा छन् । प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंसहित ७ जना भने हाल पुर्पक्षका लागि थुनामा छन् ।