एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेट

नेपालको विशाल जितमा प्रसिद्ध र विपिन नायक

काठमाडौँ, १५ असार । एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले आइतबार इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर ४२० को विशाल योगफल तयार पारेको थियो । नेपालका लागि उमेर समूह र सिनियरमा यो सर्वाधिक स्कोर भएको छ । स्पीनर विपिन शर्माले छ विकेट लिएपछि इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो ।

प्रारम्भिक ब्याट्सम्यान प्रसिद्धले ११४ बलमा १५ चौका र एक छक्कासहत १३२ रनको शानदार शतकीय पारी खेले । रौनक श्रीवास्तवले पनि ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए । यसअघि, प्रसिद्धसँगै सुरुमै क्रिजमा आएका विकेटकिपर ब्याट्सम्यान परिमार्जन यादवले मात्र २८ बलमा ७१ रनको विस्फोटक पालि खेलेर नेपालका लाग विशाल स्कोर बनाउन महत्वपूर्ण आधार तयार पारेका थिए । परिमार्जनको पालिमा आठ छक्का र चार चौका सामेल थियो ।

प्रसिद्ध र परिमार्जनले मिलेर पहिलो विकेटका लागि दस ओभरमै १३० रनको साझेदारी निर्वाह गरेका थिए । वन डाउन ब्याटसरमयान शिवांस बजगाईँ चार रनमै आउट भएप्छि प्रसिद्धले तेस्रो विकेटका लाग रौनकसँग मिलेर १४८ रनको अर्को ठूलो साझेदारी गरेका थिए ।

इन्डोनेसियाका केतुत दर्मा पुत्राले दुई तथा काविन नीरज, महेन्द्रा आजी र रेहान रिजाले एक–एक विकेट लिए ।

त्यपछि वपिनले ७.३ ओभरमा मात्र १२ रन खर्चेर छ ब्याट्समयानलाई शिकार बनाएपछि इन्डोनेसियाको पालि धराशायी भयो । नेपालका लागि शुभम खना र सुगम बुढाथोकीले एक–एक विकेट लिए । इन्डोनेसियाका लाग नीरजले सर्वाधिक १५ तथा दिवित नन्दाले १४ रन बनाए ।

चालू प्रतियोगितामा नेपालले यसअघि, सिङगापुरलाई पाँच र जापानलाई नौ विकेटले हराएको थियो । द टिम सहभागी प्रतियोगतामा नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँग रहेको छ । नेपालले भुटानसँग खेल्न बाँकी छ ।