संघीय निजामती सेवा विधेयकमा ‘बाहेक’ शब्दको विवादले राज्य व्यवस्था समिति बैठक स्थगित, प्रहरी विधेयकमाथिको छलफल अनिश्चित

काठमाडौँ, १७ असार । संघीय निजामती सेवा विधेयकमा संसदीय समितिले पारित गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द थपिएको विषयलाई लिएर विवाद चर्किएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।

उक्त विवादका कारण आज (मंगलबार) प्रहरी ऐन संशोधन विधेयकमाथि हुन लागेको महत्त्वपूर्ण छलफलसमेत प्रभावित बनेको छ।

बैठक सुरु हुनुअघि नै नेकपा (माओवादी केन्द्र) का सांसदहरू कल्पना मियाँ र माधव सापकोटाले सभापति रामहरि खतिवडासँग निजामती विधेयकमा ‘बाहेक’ शब्द कसरी र कसले थप्यो भनी जवाफ मागेका थिए। सांसदहरूको चर्को आपत्तिका बीच सभापति खतिवडाले उक्त विषयमा सबैलाई चित्तबुझ्दो जवाफ दिने प्रतिबद्धता जनाउँदै बैठक स्थगित गर्ने निर्णय लिनुभयो।

आजको बैठकमा नेपाल प्रहरी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग दफावार छलफल गर्ने कार्यसूची थियो। तर, निजामती विधेयकमा देखिएको गम्भीर प्रक्रियागत त्रुटिको विवादले प्रहरीसम्बन्धी महत्वपूर्ण विधेयकको छलफललाई समेत अनिश्चित बनाएको छ।