मकवानपुरमा १० क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना काराेबारी पक्राउ
काठमाडौँ, १७ असार । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा लागूऔषधविरुद्ध सञ्चालन गरेको विशेष कारबाहीमा ठूलो सफलता हात पारेको छ। मकवानपुरमा १० क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ भने झापा, कैलाली र धादिङबाट पनि ठूलो परिमाणमा लागूऔषधसहित कारोबारीहरू पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले मकवानपुरको कैलाश गाउँपालिका–५, कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले स्थानीय हरिबहादुर वाइवा, बुद्धिबहादुर पाख्रिन, अरूण गोले र राजेन्द्र लामाको घरमा लुकाइराखेको ५४ बोरा गाँजा बरामद गरेको हो।
प्रहरीले घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको जनाएको छ।
त्यस्तै घोडाघोडी नगरपालिकाको एक होटलबाट प्रहरीले करिब ३ किलो अवैध अफिमसहित हुम्लाका लोकेन्द्रबहादुर शाही र सालु शाहीलाई पक्राउ गरेको छ। उनीहरूको बयानका आधारमा घटनामा संलग्न रोल्पाकी पुनम पुन मगरलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
त्यस्तै बिर्तामोडबाट ५६० मिलिग्राम ब्राउनसुगरसहित स्थानीय वीरबहादुर राजबंशी पक्राउ परेका छन्। धादिङकाे गल्छी गाउँपालिकाबाट करिब ५ किलो गाँजा र ५ किलो पोलेन (उच्च गुणस्तरको चरेश) सहित अर्जुन तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ।
प्रहरीले सबै घटनामा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरी उनीहरूको सञ्जालबारे खोजी गरिरहेको जनाएको छ।