मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान
तनहुँ, २६ असार । यस वर्षको मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२’ ले उक्त आँकलन गरेको हो।
विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार मनसुनजन्य जोखिमको हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई सबैभन्दा जोखिमयुक्त जिल्लाका रूपमा राखिएको छ। उहाँले मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न र प्रभावितहरूलाई प्रभावकारी सहयोग पुऱ्याउन प्रतिकार्य योजना बनाइएको बताउनुभयो।
योजनाअनुसार जिल्लाका अधिकांश स्थानीय तहमा पहिरोलाई पहिलो र बाढीलाई दोस्रो जोखिमका रूपमा पहिचान गरिएको छ। जिल्लाको समग्र जोखिमको प्राथमिकतामा पहिरो, बाढी, आगलागी र महामारी रहेका छन्।
मनसुनजन्य विपद्का घटनामा उद्धार तथा राहतका लागि आवश्यक खुला स्थान र आश्रयस्थलहरू तयारी अवस्थामा राखिएको पनि प्रजिअ अधिकारीले जानकारी दिनुभयो।