पूर्णिमाको चार गोलको सहयोगमा भुटानविरुद्ध नेपालको फराकिलो जित
काठमाडौँ, २७ असार । पूर्णिमा राइले चार गोल गरेपछि साफ यु२० महिला च्याम्पियन्सीपमा नेपालले विजयी सुरआत गरेको छ । नेपालले शुक्रबार भुटानलाई ६–१ ले सजिलै हरायो ।
बङगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रङगलशालामा नेपालका लागि सेनु परियारले पनि दुई गोल गरिन् ।
नेपालले पूर्वार्धमा गरेको तीन गोलमा वर्षा ओलीको ‘एसिस्ट’ रह्यो । खेलको नवौँ मिनेटमै सेनुले भुटानी गोलकिपर पेमा याङजोम डिबक्स बाहिर आएको फाइदा उठाउँदै पहिलो गोल गरिन् । खेलको १८ औँ मिनेमटा पूर्णिमाले वर्षाको क्रसको सदुपयोग गर्दै आफ्नो पहिलो गोल गरिन् । पूर्वार्धको अन्तिम मिनेटमा वर्षाकै पासमा डिबक्सभित्र रहेकी सेनुले गोल गरेपछि नेपाल मध्यान्तरमा जानुअघि आरामदायक स्थितिमा पुगिसकेको थियो ।
खेलको ५४ औँ मिनेटमा सिमरन राईको गल्तीमा भुटानकी फरवार्ड केल्डेन वाङमोले गोल गरेपछि खेल रोचक स्थितमा आयो । यद्यपि नौ मिनेटपछि नै पूर्णिमाले पुनः तीन गोलले नेपाललाई अगाडि पारिन् । पूर्णिमाले भुटानी गोलरक्षक पेमासँगको ‘वन भर्सेज वन’को स्थितिमा गोल गरेर व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको ८३ औँ मिनेटमा पूर्णिमाले आफ्नो ह्याट्रिक पूरा गर्नुभयो । निर्धारीत समय सकिन दुई मिनेट बाँकी छँदा वैकल्पिक खेलाडी मिना देउवाको पासमा पूर्णिमाले छैटौँ गोल गरिन् ।
नेपालले आफ्नो दोस्रो खेल आइतबार बङगलादेशविरुद्ध खेल्नेछ ।