लगानी गरेर मञ्चमा बसेपछि आचार्य आलोचित, आलोचना गर्नेलाई स्वाँठ र कुपनको संज्ञा

काठमाडौँ, २६ भदौ । आचार्य श्रीनिवासले आफूलाई विवादित भनेको भन्दै रास्वपा सचेतक क्रान्तिशिखा धिताल र रास्वपा सांसद अमरेश कुमार सिंहप्रति आपत्ति जनाउनु भएको छ । उहाँले आफूलाई सरकारले नभई जेनजी परिवारले कार्यक्रममा आमन्त्रण गरेको भन्दै जेनजी दिवसको कार्यक्रममा सबै व्यवस्थापन धर्म गुरुहरुले गरिदिएको पनि खुलाउनुभयो ।

उहाँले त्यो दिनको त्यहाँ गृहमन्त्री सुदन गुरुङ बस्ने टेन्ट, पन्डाल, साउण्ड सिस्टम, त्यहाँको दिनभरिको खर्च, भोलिपल्ट २४ गतेको लागि पनि मञ्च, पन्डाल, साउण्ड सिस्टम सारा खर्च आफुले गरेको दावी गर्नुभयो ।

उहाँले ६–७ लाखको खर्च गरेपछि आफूहरु पनि मञ्चमा बसेको भन्दै मञ्चमा राखेको विषयमा विरोध गर्ने धिताल र सिंहको उहाँले विरोध गर्नुभएको हो । गृहमन्त्री गुरुङको उच्च प्रशंशा गर्नुभएका उहाँले सामाजिक सञ्जालमा आफूविरुद्ध टिप्पणी गरेकी रास्वपा सचेतक क्रान्तिशिखा धिताललाई चाउचाउको पोकामा परेको चिठ्ठा भनिदिनुभयो । ‘एकजना माननीय धितालजीले पनि भन्नुभारैछ । म उहाँलाई के भन्न चाहन्छु भने– ‘तपाईं त चाउचाउको पोकामा चिट्ठा पर्या जस्तो, घण्टी छापको र बालेनजीको ह्विममा तपाईंहरू चुनाव जितेर आउनुभयो । तपाईंहरू सांसद को उठ्या भन्ने पनि जनतालाई थाहा थिएन हिजो । तपाईंहरू एउटा चिट्ठा परेर आएको सांसदले विवादित गुरु भन्न हामीलाई सुहाउँदैन ।’

सिंहलाई पनि उहाँले आलोचना गर्नुभयो । ’ अमरेशजी, तपाईंले एउटा तराईको नेता, तपाईं त जनकपुरको मिथिला नगरीको ठाउँको, मैले त धार्मिक नेता मान्थेँ । तर तपाईं स्वाँठ हुनुहुँदो रहेछ,’ उहाँले भन्नुभयो ।